आइतबार, १० साउन २०८३
आइतबार, १० साउन २०८३ · समसामयिक
बागलुङ, साउन १० । । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्थानीय सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार आइफोनको विषयमा भएको विवादका कारण कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म मादक पदार्थ सेवन गरेको अनुसन्धानमा देखिएको छ।
साउन २ गते लजिन घर नफर्किएपछि परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय गलकोटमा निवेदन दिएका थिए। निवेदनलगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा तीव्र रूपमा खोजतलास अघि बढाइएको थियो।
खोजतलासका क्रममा साउन ९ गते बिहान ९:१५ बजे बडिगाड–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
यसअघि 'व्यक्ति बेपत्ता पार्न नहुने' कसुरमा अनुसन्धान सुरु गरिएका चारै जनामाथि अहिले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।