मङ्गलबार, ०९ भदौ २०८३
मङ्गलबार, ०९ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ ।
फोरमको मंगलवार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो । फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने उहाँले बताउनु भयो । फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ । यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको अध्यक्ष महर्जनले बताउनु भयो । फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा उक्त विषय पनि उठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री, सम्माननीय बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । प्रधानमन्त्री, सम्माननीय बालेन्द्र शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्रीसँग हुने भेटघाटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरु माथि माननीय सांसद आशिका तामाङबाट भएको दुव्र्यवहार प्रति घोर आपत्ति समेत जनाइएको छ । काठमाडौँ उपत्यका मेयर्स फोरमले यसअघि हालका प्रधानमन्त्री, सम्माननीय बालेन्द्र साह र काठमाडौं महानगरपालिकाका प्रमुख हुँदाको बखतदेखि नै उपत्यका भित्रको फोहोर व्यवस्थापनको लागि तत्कालीन सरकार र नेपवेस्ट बीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनको लागि मार्ग प्रशस्त गर्न समेत फोरमको बैठकमा पटक–पटक छलफल हुँदै आएको थियो । विशेषगरी उपत्यका भित्रको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएको हामी सबैलाई अवगत नै छ । यो विषयलाई दीर्घकालीन रुपमा समाधान गर्न स्थानीय सरकार सदा कटिवद्ध रहेको व्यहोरा समेत जानकारी गराउँदछौँ ।’
उपत्यकाको फोहर विसर्जन गर्ने बञ्चरेडाँडाका स्थानियले १५ दिनभित्र आफ्नो माग पूरा नगरे फोहोर रोक्ने चेतावनी दिएका छन् । फोहर रोक्न चेतावनी दिएपछि फोरमले फोहोर व्यवस्थापनका लागी प्रधानमन्त्रीसंग छलफल गर्न लागेको हो ।