logo-image

मङ्गलबार, २६ साउन २०८३

मधेशमा धार्मिक तथा साम्प्रदायिक तनाव दीर्घकालीन रूपमा हल गर्ने विषयमा गृहमन्त्री गुरुङले लिए मधेशका सांसदहरुसँग सुझाव

मङ्गलबार, २६ साउन २०८३ · समसामयिक

मधेशमा धार्मिक तथा साम्प्रदायिक तनाव दीर्घकालीन रूपमा हल गर्ने विषयमा गृहमन्त्री गुरुङले लिए मधेशका सांसदहरुसँग सुझाव

काठमाडौं, साउन २६ । गृहमन्त्री सुधन गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा उहाँले मधेशमा हालै घटेको घटनालगायत समसामयिक विषयमा मधेश प्रदेशका सबै दलका सांसदहरूसँग छलफल गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले छलफल मधेश प्रदेशमा पटक—पटक हुने गरेको धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन हल कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार छलफलमा गृहमन्त्री गुरुङले मधेशमा उत्पन्न हुने सामूदायिक तनावको हल कसरी गर्न सकिन्छ ? भन्नेबारे सांसदहरुसँग सुझाव लिनुभएको छ । सांसद भण्डारीले छलफमा सांसदरु हालै सुनसरी, सिरहासहित मधेशका केही जिल्लामा घटेको घटना साम्य पार्ने क्रममा भएको प्रशासनिक कमजोरी औंल्याउँदै सुरक्षा रणनीतिमा सुधार गर्नुपर्ने धारणा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्यूले मधेश प्रदेशमा हुने गरेका धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालिन रुपमा कसरी हल गर्न सकिन्छ ? तपाईंहरुको सुझाव चाहियो भन्नुभयो । उहाँले अब आइन्दा यस्तो घटना नहोस् भनेर दीर्घकालीन सोलुसनमा जानुपर्छ भन्नुभयो । अनि भिड नियन्त्रणको क्रममा प्रहरी र स्थानीय प्रशासनबाट भएका कमजोरी र आउने दिनमा ध्यान दिनुपर्ने कुराहरुको विषयमा हामीहरुले सुझवा दिइरहेकौँ छौँ ।’

सुनसरीको तप्तानगञ्जसहित मधेशी जिल्लामा हिन्दु र मुस्लिम समूदायबीच बढेको तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको थियो । सोही घटनामा अन्य केही घाइते भएका थिए ।