logo-image

मङ्गलबार, १२ साउन २०८३

भारतमा जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा

मङ्गलबार, १२ साउन २०८३ · समसामयिक

भारतमा जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा

काठमाडौं, साउन १२ ।  मौलिक थकाली खाना पाइने स्थानका रुपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो ।
जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा पनि नेपाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानको सुरुआतका रूपमा लिएको बताए । उनले भारतीय तथा अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उल्लेख गरे ।
कम्पनीका अनुसार नयाँ शाखामा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध हुनेछन् । मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत रैथाने नेपाली मसला नेपालबाटै आपूर्ति गरिनेछ भने अन्य ताजा सामग्री स्थानीय रूपमा व्यवस्थापन गरिनेछ ।
अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरी परम्परागत थकाली परिकारसँगै केही नयाँ शैलीका परिकार पनि समावेश गरिएको कम्पनीले जनाएको छ । चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मिठाइ तथा खुवा यमरी पनि मेनुमा रहनेछन् ।
रेस्टुरेन्टमा नेपाली शैली झल्कने गरी नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृतिको झल्को दिने सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ । आधुनिक सुविधासँग नेपाली वास्तुकला र आतिथ्यलाई संयोजन गरी ग्राहकलाई नेपालकै अनुभूति गराउने लक्ष्य राखिएको छ ।शाखामा करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने क्षमता छ । कम्पनीका अनुसार सोही परिसरमा भारतमा पहिले नै सञ्चालनमा रहेको नेपाली कफी ब्रान्ड हिमालयन जाभाको शाखा पनि रहनेछ । रेस्टुरेन्टको व्यवस्थापन प्रणालीका लागि भारतमा समेत सेवा विस्तार गरिसकेको नेपाली सफ्टवेयर कम्पनी आईएमएस सफ्टवेयरको प्रणाली प्रयोग गरिनेछ । नेपाली ब्रान्ड र प्रविधिसँगै काम गर्नु सचेत निर्णय भएको बताउँदै शेरचनले नेपाली व्यवसायहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र एकअर्कालाई सहयोग गर्न सक्ने देखाएको बताए ।
सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालस्थित चार शाखामार्फत सेवा दिँदै आएको छ । कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीले नेपाली थकाली खानालाई अन्तर्राष्ट्रिय रेस्टुरेन्ट ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ ।  

ताजा समाचार