logo-image

सोमबार, २५ साउन २०८३

अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम ‘युवाका लागि आरोग्य’ शुभारम्भ

सोमबार, २५ साउन २०८३ · समसामयिक

अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम ‘युवाका लागि आरोग्य’ शुभारम्भ


काठमाडौं, साउन २५ । अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा युवाका लागि आरोग्य भन्ने मूल नारासहित जीवन विज्ञान प्रतिष्ठानको युवा वृत्तद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको आईतबार भव्य शुभारम्भ भएको छ ।
कार्यक्रमको उद्घाटन जीवन विज्ञान परिषद्का सहसंयोजक सुनिल बस्नेतले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन सत्रमा सहभागीहरूलाई धीरज काफ्लेले स्वजागरण ध्यान गराए ।सो अवसरमा आयोजित स्वेच्छिक रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गर्दै मानव सेवामा योगदान दिएका थिए ।
कार्यक्रममा तेजश्वी पन्तले सुमधुर गीत प्रस्तुत गरेकी थिइन् भने पुस्तिका पोखरेल, आकृति अधिकारी, सुशान्त विष्टलगायतले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । कार्यक्रमको सञ्चालन आयुष थापा र आकृति प्रसाईंले गरेका थिए भने युवा वृत्तका संयोजक सन्तोष विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै जीवन विज्ञान प्रतिष्ठानका सचिव किरण रूपाखेतीले प्रत्येक युवाले आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरी त्यसअनुसार जीवनमा अघि बढ्नु पर्ने बताए । उनले कार्यक्रमले युवाहरूमा सकारात्मक सोच, स्वस्थ जीवनशैली, नेतृत्व क्षमता र समग्र आरोग्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 
साउन २४ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयमा विद्यार्थी, शिक्षक र कर्मचारीहरूका लागि स्वजागरण ध्यान, योग तथा वेलनेस सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छन् । अभियानको पहिलो दिन नै विभिन्न कलेजहरूमा दुई हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वजागरण ध्यान गराइएको छ ।
सप्ताहव्यापी अभियानअन्तर्गत युवा लक्षित विविध कार्यक्रमहरू सञ्चालन गरिनेछन् भने साउन ३० गते वेलनेश फर रन शीर्षकको ५ किलोमिटर वेलनेस दौड आयोजना गरी कार्यक्रमको समापन गरिने छ ।

अभियानको उद्देश्य युवाहरूमा शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक आरोग्य प्रवर्धन गर्दै स्वस्थ, सचेत, जिम्मेवार र सिर्जनशील युवा पुस्ता निर्माणमा योगदान पु¥याउनु हो ।