logo-image

शुक्रबार, ०१ साउन २०८३

जेठ १६ देखि १८ सम्म पश्चिम नेपालमा भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

आइतबार, १७ जेठ २०८३ · समसामयिक

जेठ १६ देखि १८ सम्म पश्चिम नेपालमा भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं, जेठ १७ ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिकै रहेको न्यून चापीय रेखाको संयुक्त प्रभावका कारण मौसममा यस्तो परिवर्तन आएको हो।

नेपालको पश्चिमी भू-भाग र भारतको नयाँ दिल्ली आसपासको क्षेत्रमा आगामी तीन दिन (जेठ १६ देखि १८ गतेसम्म) मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालगन्जदेखि पश्चिम तथा भारतको दिल्लीदेखि पूर्वी भागसम्म विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागमा भने आंशिक बादल लाग्ने अनुमान छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। आज दिउँसो लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ।

मौसमविद्हरूले हावाहुरी, चट्याङ्ग र भारी वर्षाको जोखिम रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र यात्रा गर्दा मौसमको अवस्था बुझ्न सुझाव दिएका छन्।

ताजा समाचार