मङ्गलबार, १२ जेठ २०८३
मङ्गलबार, १२ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १२ । सरकारले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो ।
कन्सुलर सेवा विभागमा मंगलवार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सुभारम्भ गर्नुभएको हो । अब ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफ्नै स्थानबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने परराष्ट्रमन्त्री खनालले बताउनु भयो । विदेशमा रहेका नेपालीहरूको यकिन तथ्यांक नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै उहाँले सरकारले विभिन्न सरकारी निकाय, गन्तव्य मुलुक र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा नेपालीहरूको तथ्यांक संकलन शुरु गरेको जानकारी दिनुभयो । यसबाट भविष्यमा कन्सुलर सहायता र आपत्कालीन उद्धार कार्य छिटो तथा प्रभावकारी हुने उहाँको भनाई छ । विदेशमा रहेका नेपालीहरूले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले ‘मोफा मित्र’ एप विकास गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल ६ जना नेपालीमध्ये एक जना विदेशमा छन् । करिव ५० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै उहाँले अप्ठ्यारो पर्दा कहाँ जाने, कसलाई सम्पर्क गर्ने भन्ने अन्योल हटाउन एउटै एपमार्फत सेवा दिने प्रयास गरिएको बताउनु भयो । उहाँले नेपालभित्र र विदेशमा रहेका नेपालीहरूले एप डाउनलोड गरी समस्या पर्दा सहज रूपमा गुनासो दर्ता गर्न सक्ने बताउनु भयो । गुनासोको अवस्थाबारे ट्रयाक गर्न सकिने र समयमा सम्बोधन नभए थप पहल गर्न सकिने व्यवस्था पनि गरिएको उहाँको भनाई छ । मन्त्री खनालले एपलाई आगामी दिनमा थप विस्तार र परिमार्जन गर्दै लाने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब मोफा मित्र एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्त साथीभाइले आफ्नो स्थानबाटै सहज रूपमा अनलाइन निवेदन दर्ता गर्न वा आफ्ना गुनासोहरू राख्न र सम्बन्धित नेपाली नियोगहरूसँग सहज सम्पर्क र समन्वय गर्न सक्नेछन् । विदेशमा रहेका नेपालीहरूको तथ्याङ्क नहुनु र उद्धार र सहायतामा समन्वयकारी संयन्त्रको कमी हाम्रो लागि दुर्भाग्यको विषय हो । यसै तथ्यलाई दृष्टिगत गरी सरकारले सम्बन्धित सरकारी निकायमा रहेको तथ्याङ्क, गन्तव्य मुलुकबाट प्राप्त तथ्याङ्क र व्यक्ति स्वयंले भरेको विवरणका आधारमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलनको कार्य सुरु गरेको छ, जसले आगामी दिनमा कन्सुलर सहायता प्रदान गर्न सहज हुने र आवश्यक परेको बखत शिघ्र उद्धार गर्न सकिनेछ । हामी मन्त्रालयमा आइसकेपछि पनि हामीले एकदमै बढी अनुभव गर्नुपरेको, महसुस गर्नुपरेको नेपालभन्दा बाहिर दुःखमा, अप्ठ्यारोमा पर्नुभएका नेपालीहरूको उद्धारको सहजीकरणको विषय एकदमै बढी हामीकहाँ आइपुग्छ । तर धेरै अन्योल के छ भने कन्सुलर सेवा विभागले प्रदान गरेको सेवाको बारेमा पनि धेरै नागरिकहरूलाई जानकारी छैन । त्यसको कारणले गर्दाखेरि कहाँ जाने, कसरी भन्ने, कसलाई गुनासो गर्ने भन्ने अन्योलता पनि एकदमै देखिन्छ । हामीले त्यो अन्योलताहरूलाई चिर्दै सकेसम्म एउटै प्रविधि, एउटै एपमार्फत वान डोर एउटा टेक्नोलोजीको एउटा सूत्र हुनसक्छ भनेर यो मोफा मित्र एपलाई हामीले अगाडि बढाउन खोजेका छौँ । आज ६ जना नेपाली नागरिकमध्ये १ जना नेपाली बाहिर हुनुहुन्छ ।
५० लाख हामी नेपालीहरू बाहिर छौँ, नेपाल बाहिर हुनुहुन्छ । त्यो बाहेक भारतमा अनौपचारिक तरिकाले जाने नेपालीहरूको सङ्ख्या पनि ठूलो छ । त्यो अर्थमा आज हरेक घर कुनै न कुनै हिसाबले, हरेक परिवार कुनै न कुनै हिसाबले नेपाल बाहिरसँग जोडिएको छ । तर उहाँहरूलाई अप्ठ्यारो परेको बेला के गर्ने भन्ने कुराको जानकारी त्यति सहज रूपमा हामीले पनि प्राप्त नगरेको अवस्था छ । अब नेपालभरि र नेपाल बाहिर भएका नेपालीहरूमार्फत यो एप डाउनलोड गरेर आफूलाई अथवा आफ्ना परिवारलाई अप्ठ्यारो परेमा एपमार्फत गुनासो राख्न सक्नुहुन्छ । गुनासोको सम्बोधन, गुनासोमा के भइरहेको छ भनेर ट्रयाक पनि गर्न सक्नुहुन्छ । यदि गुनासोको सम्बोधन समयमा भएन भनेर थप त्यसबाट हामीले केही कदम चाल्न प¥यो भने हामी तपाईंहरूको साथ हुने नै छौँ । तर सहज ढङ्गले परेको अप्ठ्यारो र गुनासो सम्बोधन गर्नको लागि एउटा एपले नै यहाँहरूको समस्यालाई समाधान गर्छ ।’
मन्त्री खनालले ‘लिगल नेपाल कन्सुलर जिओभी एनपी’ अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार हाल उक्त प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग तथा करिव पाँच सय स्थानीय तहमा विस्तार भइसकेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै ७ सय ५३ स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । अनलाइन प्रणालीमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा जेलमा रहेका नेपालीहरूको उद्धार तथा कानुनी सहायता, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने वा विदेशमै अन्त्यष्टि गर्ने प्रक्रिया, बीमा तथा क्षतिपूर्ति दाबी लगायतका कार्यमा सहजीकरण भएको उहाँको भनाई छ । उहाँले परराष्ट्र मन्त्रालयका सेवाहरूलाई क्रमशः पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्य लिएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्शानी
एक घण्टा अगाडि
२४ घण्टाभित्र देशका विभिन्न ठाउँमा ४ जनाको मृत्यु
४ घण्टा अगाडि