आइतबार, ३१ साउन २०८३
आइतबार, ३१ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ३१ । नेपालको औद्योगिक क्षेत्रमा दरिलो उपस्थिति जनाएको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार र भविष्यको व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको हो ।
कम्पनीले आफ्नो कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यससँगै कम्पनीले संस्थापक शेयरको मूल्य पनि निर्धारण गरेको छ । १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थपेर संस्थापक शेयरको मूल्य प्रति कित्ता १९० रुपैयाँ कायम गर्ने निर्णय सभाले गरेको छ ।
ईभी ब्याट्री रिसाइकलः एक रणनीतिक फड्को
परम्परागत रिसाइकलिङ व्यवसायभन्दा एक कदम अघि बढ्दै जेमिनीले नेपालमा बढ्दो विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगलाई व्यावसायिक अवसरका रूपमा उपयोग गर्ने योजना बनाएको छ । हाल पुराना ब्याट्री र प्लास्टिक प्रशोधन गर्दै आएको कम्पनीले अब ’फ्युचर प्लान’ अन्तर्गत प्रयोग भइसकेका ईभी ब्याट्रीहरूको रिसाइकलिङ गर्ने लक्ष्य लिएको हो ।
नेपालमा ईभीको आकर्षण तीव्र गतिमा बढिरहेकाले भविष्यमा पुराना ब्याट्रीको व्यवस्थापन ठूलो चुनौती बन्ने निश्चित छ । कम्पनीले उक्त ब्याट्रीहरूलाई पुनः प्रशोधन गरी उपयोगी कच्चा पदार्थमा रूपान्तरण गर्ने आधुनिक प्रविधि भित्र्याउने तयारी गरेको छ ।
उत्पादन र निर्यातको वर्तमान अवस्था
जेमिनी रिसाइकलले हाल पुराना ब्याट्रीबाट रिमेल्टेड र रिफाइन्ड लिड उत्पादन गर्दै आएको छ। साथै, आल्मुनियम र कपर स्क्र्यापको प्रशोधन तथा पुराना प्लास्टिकलाई प्रशोधन गरी दाना र चिप्स बनाउने काम गरिरहेको छ। कम्पनीको एउटा बलियो पक्ष के छ भने यसका अधिकांश उत्पादनहरू भारतीय बजारमा निर्यात हुने गरेका छन् । फोहोरलाई औद्योगिक कच्चा पदार्थमा बदल्ने यो व्यवसायले नेपालको व्यापार घाटा न्यूनिकरणमा समेत योगदान पु¥याएको छ ।
व्यवसायिक नेतृत्व र लगानीको आधार
यस कम्पनीको नेतृत्व व्यवसायिक घरानाका अनुभवी व्यक्तित्व दिवाकर राठीले गरिरहनुभएको छ भने संचालक समितिमा प्रतिष्ठित अटो व्यवसायी आकाश गोल्छा र विल किशोर मेन्याङ्गबो रहेका छन् । व्यक्तिका अतिरिक्त कम्पनीमा टप फन्ड लिमिटेड, स्टार फण्ड इन्भेष्टमेन्ट र हारवेस्ट भेन्चर्स जस्ता संस्थागत लगानीकर्ताहरूको सहभागिता छ । यस्ता प्रतिष्ठित घराना र कोषहरूको लगानीले कम्पनीको आगामी योजना र ईभी रिसाइकलिङको लक्ष्यलाई थप विश्वसनीय बनाएको छ ।
‘सफा शहर’ को परिकल्पना र डिजिटल प्रयास
कम्पनीले वातावरण संरक्षणलाई केन्द्रमा राख्दै ’पब्लिक–प्राइभेट पार्टनरसिप’ (एएए) को मोडलमा काम गर्ने योजना अघि सारेको छ । घर, कार्यालय र उद्योगहरूबाट निस्कने फोहोरलाई व्यवस्थित रूपमा संकलन गर्न कम्पनीले छुट्टै मोबाइल एप निर्माण गर्ने लक्ष्य राखेको छ । एपमार्फत घरदैलोबाटै फोहोर संकलन गरी त्यसलाई प्रशोधन केन्द्रसम्म पु¥याउने र शहरलाई स्वच्छ राख्न सघाउने कम्पनीको दीर्घकालीन सोच छ ।
आगामी दिनमा आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर दिँदै र प्रविधिमा आधारित रिसाइकलिङमा लगानी बढाउँदै जेमिनी रिसाइकल नेपालले देशको अर्थतन्त्र र वातावरण दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
#IPO
बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
२ घण्टा अगाडि