शुक्रबार, ०१ साउन २०८३
शुक्रबार, ०१ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन १ । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले २०८३ साउन १ देखि यो सेवाको शुभारम्भ गरेको हो ।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Apply for Lost/Damaged SIM मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
सम्पूर्ण विवरण भरिसके पश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ । यसका लागि आवश्यक रु. ५० काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारममै उल्लेख गर्नु पर्नेछ । प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो ।
esim.ntc.net.np लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो । यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाईसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ ।