logo-image

शुक्रबार, २३ असोज २०८३

फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोटः ४ हजार मिटर माथिसम्म फैलियो खरानी

शुक्रबार, २३ असोज २०८३ · अन्तर्राष्ट्रिय

फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोटः ४ हजार मिटर माथिसम्म फैलियो खरानी

फिलिपिन्स,  असोज २३ ।   फिलिपिन्सको राजधानी मनिनाको दक्षिणी क्षेत्रमा रहेको ताल ज्वालामुखीमा बिहीवार साँझ विस्फोट भएको छ ।

स्थानीय समयअनुसार साँझ ६ः०६ बजे भएको यो ‘माइनर फिएटोम्याग्मेटिक’ विस्फोटले करिव ४ हजार मिटरको उचाईसम्म खरानीको मुस्लो फालेको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । संस्थानकाअनुसार पाँच मिनेटसम्म चलेको उक्त विस्फोटपछि ज्वालामुखीको मुखबाट निस्किएको खरानीको मुस्लो दक्षिण–पश्चिमी क्षेत्रतर्फ फैलिएको छ । संस्थानले यस घटनालाई सानो स्तरको विस्फोटका रूपमा वर्गीकरण गरे पनि वरपरका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ ।

फिलिपिन्सको पाँच तहको ज्वालामुखी शतर्कता मापदण्डमध्ये हाल तह १ कायम राखिएको छ । ताल ज्वालामुखी फिलिपिन्सको सबैभन्दा सक्रिय ज्वालामुखीहरूमध्ये एक हो । यसअघि सन् २०२० को जनवरीमा भएको ठूलो विस्फोटका कारण करिव ३ लाख ८० हजार स्थानीय बासिन्दा विस्थापित हुनुपरेको थियो भने सयौं घर, कृषि फार्म र सडकमा क्षति पुगेको थियो । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले फिलिपिन्स भौगर्भिक दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिन्छ ।

यस क्षेत्रमा बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटका घटनाहरू भइरहने गर्छन् । हालको विस्फोटपछि कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले निरन्तर अनुगमन गरिरहेको छ ।