logo-image

शुक्रबार, २९ जेठ २०८३

गरगहनासहित फरार आफ्नै श्रीमानबाट असुरक्षित दियाको न्यायको गुहार

शुक्रबार, २९ जेठ २०८३ · समसामयिक

गरगहनासहित फरार आफ्नै श्रीमानबाट असुरक्षित दियाको न्यायको गुहार



काठमाडौं, जेठ २९ । चितवन टाडी माइती भएकी ३९ वर्षिय दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् ।

सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग लागेर फरार भएपछि चितवनको खैरेनी प्रहरी चौकीमा फागुनमा उजुरी दिएको जानकारी दिएकी छन् । लामो समयदेखि आफूलाई शारीरिक तथा मानसिक यातना दिदै आएको बताउँदै भनिन्,“तैले बढी गरिस भने ‘मारेर तेरो मासु कुकुरलाई खुवाउँछु’ भनेर धम्की दिएका छन्, उसलाई पक्रेर कारवाही नभए मेरो ज्यानमाथि खतरा छ ।”

अभियान्ता सोभा पाठकले पीडक माधव क्षेत्रीलाई तत्काल पक्रेर कानुनी कारवाही र पीडतको ज्यानको सुरक्षाको लागि राज्यसँग माग गरेकी छन् । पाठकले भरखरै मात्रै पुनर्बहाली भएका गृहमन्त्री सुदन गुरुङ पीडितको आशाको किरण भएको जिकिर गर्दै दियालाई पनि न्याय दिनेमा पूर्ण आशावादी रहेको बताईन् ।

पीडित क्षेत्रीको बहिनी कृष्णमाया दराईले पीडक माधव क्षेत्रीबाट दिदीलाई निरन्तरको शारीरिक तथा मानसिक यातनाले उच्च रक्तचापको समस्या आएको बताइन् । पीडकबाट निरन्तर धम्की आइरहेकोले उनलाई ज्युज्यानको सुरक्षा तथा न्यायको माग गरेकी छन् ।

पत्रकार पवित्रा लामाले दिया जस्तै हजारौं महिलाहरु आफ्नै घरपरिवार तथा अपरिचित पुरुषहरुबाट पीडित भइरहेकाले राज्यले कडा कानुन बनाउन माग गरिन् ।