logo-image

आइतबार, २१ भदौ २०८३

विपद् अपडेटः रसुवा बाढीमा परी हालसम्म १,३४१ जनाको मृत्यु, झन्डै ५ हजार बेपत्ता

आइतबार, २१ भदौ २०८३ · समसामयिक

विपद् अपडेटः रसुवा बाढीमा परी हालसम्म १,३४१ जनाको मृत्यु, झन्डै ५ हजार बेपत्ता
 
काठमाडौं, भदौ २१ । भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । 
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोको पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो । प्राधिकरणले बिहान ११ बजेसम्म उपलब्ध तथ्याङ्कअनुसार विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको जानकारी दिएको छ । बाढीबाट निधन भएकाहरुमध्ये सबैभन्दा धेरै शव चितवनमा ३६२ जनाको फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्तले बुझिलिएको प्राधिकरणले जनाएको छ ।
विपद्मा परी अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् । जसमा नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी १०० जना रहेका छन् ।बेपत्ताको सूचीमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू समेत समावेश हुनसक्ने भएकाले हाल तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ । 
उद्धार कार्यलाई तिबव्रता दिँदै हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ । जसमा नेपाली सेनाबाट ४ हजार १६२, नेपाल प्रहरीबाट ४ हजार ६८ र सशस्त्र प्रहरी बलबाट ४ हजार ८७४ जनाको उद्धार गरिएको छ । हवाई मार्गबाट ३०४ जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ । 
बाढी र पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ । जसमध्ये ३ हजार २ सय ९७ जनाको नेपाली सेना, २ हजार ४ सय ६२ जनाको सशस्त्र प्रहरी र ३१६ जनाको विभिन्न अस्पतालहरूमा उपचार भएको छ । विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौँमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ, जहाँ हाल ३ हजार ६ सय ५२ जना आश्रित छन् ।
विपद् व्यवस्थापनका लागि कुल २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ७५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । 
राहत सामग्री ढुवानीका लागि काठमाडौँबाट ८३ वटा ट्रक र ३८ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीका हेलिकप्टरमार्फत १८२ पटक उडान भरी राहत सामग्री पु¥याइएको छ । 
नेपाल सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि नगद राहत रकम विनियोजन गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।  
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४७ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले उल्लेख गरेको छ । सम्पर्कविहीन र उपचाररत व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।