शुक्रबार, ०८ जेठ २०८३
शुक्रबार, ०८ जेठ २०८३ · समसामयिक
पोखरा, जेठ ८ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले शुक्रबार निवेदकको मागबमोजिम उक्त अभियोगहरू फिर्ता गर्ने आदेश जारी गरेको हो। अदालतको यो आदेशसँगै पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा अब प्रतिवादीहरूविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहने भएको छ।
यसअघि उक्त प्रकरणमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा समेत अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाइएको थियो। अदालतको पछिल्लो निर्णयले ती अभियोगहरूलाई खारेज वा फिर्ता गरिदिएको छ।
अदालतको यस आदेशबाट सभापति लामिछानेसहित सोही प्रकरणमा जोडिएका अन्य प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशी लगायतलाई समेत राहत मिलेको छ। उनीहरूविरुद्धका सम्बन्धित (सम्पत्ति शुद्धीकरण र संगठित अपराध) अभियोगहरू पनि फिर्ता हुने जनाइएको छ।