सोमबार, ०८ असार २०८३
सोमबार, ०८ असार २०८३ · समसामयिक
काठमाडौं, असार ८ । नेपाली कांग्रेसका आदर्शवादी एवं पुराना नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार राति ९:४५ बजे निधन भएको छ। लामो समयदेखि दम र अन्य स्वास्थ्य समस्याबाट पीडित खरेलको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसभित्र निष्ठावान् नेताका रूपमा परिचित थिए। उनले २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी एवं सक्रिय भूमिका निर्वाह गरेका थिए। राजनीतिक आन्दोलनका क्रममा उनले पटक-पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका थिए। खरेल २०५६ सालको निर्वाचनमा सांसद चुनिएपछि शिक्षा राज्यमन्त्री र पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए।
दिवंगत खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। पार्टीका पदाधिकारी एवं नेताहरूले उनको पार्थिव शरीरमा कांग्रेसको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। खरेलको आजै दिउँसो १:०० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा वागमतीकी दीक्षा फाइनलमा
३ घण्टा अगाडि