logo-image

आइतबार, १० जेठ २०८३

बज्रयानी संस्कृति र अध्यात्मको संगम ‘चर्या नृत्य’ (फोटो फिचर)

आइतबार, १० जेठ २०८३ · मनोरञ्जन

बज्रयानी संस्कृति र अध्यात्मको संगम ‘चर्या नृत्य’ (फोटो फिचर)

काठमाडौं, जेठ १० । नेपालको मौलिक एवं प्राचीन सांस्कृतिक सम्पदाका रूपमा रहेको ‘चर्या नृत्य’ को संरक्षण र प्रवद्र्धनका लागि सरोकारवालाहरूले तदारुकता देखाएका छन् । काठमाडौं उपत्यकाको बौद्धमार्गी समुदाय, विशेषगरी बज्राचार्य र शाक्यहरूमा प्रचलित यो नृत्य विश्वकै ऐतिहासिक र आध्यात्मिक नृत्य विधामध्ये एक मानिन्छ ।

चर्या नृत्य केवल कला र मनोरञ्जनको साधन मात्र नभई यो एक विशिष्ट तान्त्रिक साधना र ध्यानको स्वरूप हो । बज्रयान बौद्ध दर्शनमा आधारित यस नृत्यमा विभिन्न देवी–देवताका स्वरूप, मुद्रा र भावहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ । विशेषगरी ‘चर्या गीति’ (बज्रगीत) को ताल र लयमा प्रस्तुत गरिने यस नृत्यमा पञ्चबुद्ध, मञ्जुश्री, आर्य तारा, लोकेश्वर लगायतका देवदेवीहरूको उपासना गर्ने गरिन्छ । संस्कृतिविद्हरूकाअनुसार प्राचीन कालमा यो नृत्यलाई अत्यन्तै गोप्य मानिन्थ्यो र केवल निश्चित दीक्षा प्राप्त व्यक्तिहरूले ‘आगम घर’ भित्र मात्र प्रदर्शन गर्ने गर्दथे । तर पछिल्लो समय यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै यसलाई सार्वजनिक रूपमा पनि प्रदर्शन गर्न थालिएको छ । यसले नेपाली मौलिक कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको छ ।

यद्यपि, यसको शास्त्रीय शुद्धता र मौलिकतालाई कायम राख्नु चुनौतीपूर्ण रहेको कलाकारहरू बताउँछन् । नयाँ पुस्तामा यो प्राचीन सीपलाई हस्तान्तरण गर्न उचित तालिम र संस्थागत पहलको आवश्यकता औँल्याइएको छ । मौलिक राग, ताल र मुद्राको सही ज्ञानबिना यसको गरिमा जोगाउन कठिन हुने भएकाले यस क्षेत्रका विज्ञहरूले यसको अभिलेखीकरण र प्रशिक्षणमा जोड दिएका छन् । नेपालको अमूर्त सांस्कृतिक सम्पदाको एक अभिन्न अङ्ग रहेको चर्या नृत्यको संरक्षणले हाम्रो पहिचानलाई जीवन्त राख्नुका साथै धार्मिक पर्यटनको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चर्या बौद्ध दर्शन तथा नृत्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्यलाई विशेष सम्मान अर्पण गरिएको छ । 

काठमाडौं महानगरपालिका, यूनेस्को तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘चर्या प्रवाह’ कार्यक्रमका बीच उहाँलाई सो सम्मान प्रदान गरिएको हो । –तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

ताजा समाचार