शुक्रबार, २९ जेठ २०८३
शुक्रबार, २९ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ २९ । नेपाल सरकार, मन्त्रिपरिषदको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोक जिल्ला, चौतरा नगरपालिकाका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ । लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्नका लागि सरकारले धिताललाई सो जिम्मेवारी सुम्पेको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ । नेपालमा लेखामानको कार्यान्वयन, बैंक वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेली सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उनले उल्लेखिय भुमिका खेलेका छन् ।
धितालले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित ’बिग ४’ मध्येको एक वित्तीय परामर्शदाता कम्पनी अन्स्र्ट एण्ड यंग मुम्बईबाट सुरु गरेका थिए । उनले नेपालका प्रतिष्ठित संस्थाहरू जस्तैः नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवा नेतृत्व गरिसेकका छन । एसियाली विकास बैंकका विभिन्न परियोजनाहरुमा उहाँले विभिन्न भुमिका एवं जिम्मेवारीमा समेत कार्य गरेका छन् ।
उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको रुपमा रही सफलतापूर्वक आफ्ना जिम्मेवारी पुरा गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समिति लगायत विभिन्न समितिमा रहेर कार्य गरेका धिताल हाल परीक्षा समिति सदस्य रहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा विभिन्न तहका अध्ययन सामाग्री तयारीमा अमुल्य योगदान दिएका धितालले विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा योगदान पु¥याउँदै आएका छन् । यसअघि पनि उनले लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा सल्लाहकारका रूपमा प्राविधिक योगदान दिएकाछन् ।