logo-image

बिहिबार, २८ साउन २०८३

सिंहदरबारमा सुलभ मूल्यको खाद्य विक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध

बिहिबार, २८ साउन २०८३ · समसामयिक

सिंहदरबारमा सुलभ मूल्यको खाद्य विक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध

काठमाडौं, साउन २८ । सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य विक्री कक्ष शुरु गरिएको छ । बिहीबार मन्त्रालय परिसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य विक्री कक्षको उद्घाटन गर्नुभएको हो । 

विक्री कक्षको समुद्घाटन गर्दै मन्त्री कुमारीले यस केन्द्रबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कार्यका लागि आउने सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूले कार्यालय समयपछि घर फर्कने क्रममा सहजै किनमेल गर्नसक्ने भएकाले यसबाट समयको वचत हुने र व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनु भयो । उहाँले सिंहदरबार प्रवेश गर्ने सबैलाई एकपटक विक्री कक्षको अवलोकन गर्न र सेवा लिन आग्रह समेत गर्नुभयो । मन्त्री कुमारीकाअनुसार हाल यस्ता विक्री कक्षहरू विभिन्न पाँच स्थानमा सञ्चालनमा रहेका छन् । आगामी दिनमा यस सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उहाँले निजी क्षेत्रको भाटभटेनी जस्ता सुपरमार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताउनु भयो । 

मन्त्री कुमारीले भन्नुभयो, ‘यहाँ दैनिक उपभोग्य १४२ प्रकारका खाद्य सामग्रीहरू उपलब्ध छन् । दुग्ध विकास संस्थान (डीडीसी) को विक्री केन्द्र पनि नजिकै रहेकाले उपभोक्तालाई आवश्यक सबै सामग्री एकै स्थानबाट खरिद गर्न सहज हुनेछ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र सहुलियत मूल्यको खाद्य विक्री कक्ष सञ्चालनमा ल्याएको हो । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाइ हुने कर्मचारी तथा सेवाग्राहीहरूको ठूलो मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा यो सेवा शुरु गरिएको बताउनु भयो । विक्री कक्षको उद्घाटन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत लम्सालले देशभरका १ सय ९३ स्थानबाट कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार कम्पनीसँग उपलब्ध रहेका विभिन्न प्रकारका खाद्यान्नमा प्रतिकिलोग्राम ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा सेवाको पहुँचबारे उठेका प्रश्नको स्पष्टीकरण दिँदै लम्सालले कर्णालीका सबै जिल्ला र स्थानीय तहहरूमा सम्झौतामार्फत विक्री केन्द्रहरू सञ्चालनमा रहेको बताउनु भयो । 

कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने र उपभोक्ताहरूलाई सहुलियत दरमा उपलब्ध गराउने गरी दोहोरो भुमिका निर्वाह गरिरहेको दाबी गरेको छ । कोरोना महामारीको समयमा शुरु गरिएको ‘होम डेलिभरी’ सेवा हाल पनि विशेष परिस्थितिमा उपलब्ध रहेको तर उपभोक्ताहरूले स्वयं उपस्थित भएर सामान रोजेर लिन बढी रुचाएको लम्सालको भनाइ छ । सरकारको पछिल्लो सक्रियतापछि दुग्ध विकास संस्थान (डिडिसी) झैँ खाद्य व्यवस्था कम्पनीले पनि आफ्नो सेवा विस्तारमा तिब्रता ल्याएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेको छ । निमित्त प्रमुख लम्सालले आम उपभोक्ताहरूलाई कम्पनीद्वारा उपलब्ध गराइएका खाद्य तथा गैर–खाद्य वस्तुहरूको सेवा लिन आह्वान समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल