logo-image

आइतबार, २१ असार २०८३

विज्ञापन व्यवसायमा डिजिटल रूपान्तरणको चुनौती र अवसरबारे विज्ञापनकर्मीको बहस

आइतबार, २१ असार २०८३ · समसामयिक

विज्ञापन व्यवसायमा डिजिटल रूपान्तरणको चुनौती र अवसरबारे विज्ञापनकर्मीको बहस

काठमाडौं, असार २१ ।  नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरेको एकमहिने कार्यक्रम अन्तर्गत शुक्रबार ‘परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित कार्यक्रममा नेपाली मिडिया तथा विज्ञापन क्षेत्रमा देखिएका नयाँ प्रवृत्ति, चुनौती र अवसरका विषयमा विज्ञ तथा सरोकारवालाबीच विस्तृत छलफल भएको थियो। कार्यक्रम एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा आयोजना गरिएको हो । 

अन्तरक्रियामा प्रविधिको तीव्र विकाससँगै विज्ञापन उद्योगमा आएको परिवर्तन, त्यसले सिर्जना गरेका चुनौती तथा ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्न नेपाली विज्ञापन व्यवसायी र सञ्चारकर्मीले अवलम्बन गर्नुपर्ने रणनीतिबारे विशेष बहस भएको थियो ।  छलफलका क्रममा उपभोक्ताको ध्यान फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत डिजिटल तथा सामाजिक सञ्जालतर्फ केन्द्रित हुँदै जाँदा टेलिभिजन, रेडियो र छापा माध्यममा जाने विज्ञापनको हिस्सा घट्दै गएको र यसले परम्परागत सञ्चार माध्यमको बजारमा असन्तुलन सिर्जना गरेको निष्कर्ष निकालिएको थियो । 

सहभागीहरूले नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा–आधारित मार्केटिङ तथा डिजिटल विज्ञापनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको र शहरी तथा ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको खाडल पनि विज्ञापन क्षेत्रको प्रमुख चुनौतीका रूपमा रहेको धारणा राखेका थिए ।

यद्यपि, चुनौतीका बीच पनि नेपाली विज्ञापन एजेन्सी तथा उद्यमीहरूले परम्परागत कार्यशैलीबाट बाहिर निस्कँदै डिजिटल तथा इन्फ्लुएन्सर मार्केटिङलाई प्राथमिकता दिन थालेको, साथै स्थानीय भाषा, संस्कृति र बजारअनुकूल सिर्जनशील डिजिटल सामग्री उत्पादनमा सक्रियता बढाएको भन्दै उनीहरूको प्रयासको प्रशंसा गरिएको थियो । छलफलमा कृत्रिम बुद्धिमत्ता र डीपफेकजस्ता अत्याधुनिक प्रविधिबाट भ्रामक विज्ञापन फैलिने जोखिमलाई न्यूनीकरण गर्न विज्ञापन क्षेत्रमा आचारसंहिता निर्माण, स्वनियमन तथा जिम्मेवार ढंगले प्रविधिको प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो । 

प्यानल छलफलपछि एड्सारो नेपाल प्रालिका अध्यक्ष सुजन अधिकारीले आधुनिक प्रविधिको प्रयोगमार्फत डिजिटल प्लेटफर्ममा विज्ञापन वितरण गर्ने कम्पनीले विकास गरेको प्रविधि तथा त्यसको उपयोगिताबारे विशेष प्रस्तुति दिएका थिए। उनका अनुसार उक्त प्रविधिले विज्ञापन वितरणलाई थप प्रभावकारी, पारदर्शी र मापनयोग्य बनाउने क्षमता राख्छ । नेपाल विज्ञापन संघका कार्यकारी सदस्य प्रभात रिमालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पंकज प्रधानले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र सान्दर्भिकतामाथि प्रकाश पारेका थिए। प्यानल छलफलको सहजीकरण टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुज राज ढुङ्गेलले गरेका थिए ।

छलफलमा नेपाल विज्ञापन संघका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य तथा सारस बेभरेज (रेड बुल नेपाल) का सेल्स एन्ड मार्केटिङ प्रमुख निर्भिक प्रधान प्यानलिस्टका रूपमा सहभागी थिए । 

कार्यक्रमको समापन गर्दै नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सुदीप थापाले एड्सारो नेपालले विकास गरेको प्रविधिले विज्ञापन उद्योग मात्र नभई समग्र नेपाली सञ्चारमाध्यम र विज्ञापनदातालाई पनि सहज, किफायती तथा प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले विज्ञापनको प्रभावकारिता मापन, पारदर्शिता अभिवृद्धि तथा डिजिटल रूपान्तरणमा यस्ता प्रविधिले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै सहयोगी संस्था, वक्ता तथा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरे ।