मङ्गलबार, ०९ असार २०८३
मङ्गलबार, ०९ असार २०८३ · मनोरञ्जन
काठमाडौं, असार ९ । नेपाली हास्यव्यङ्ग्य र अभिनय आकाशका जीवन्त इतिहास, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथा अब सिने पर्दामा समेटिने भएको छ। उनको संघर्ष, सफलता र व्यक्तिगत जीवनका पानाहरू पल्टाउने गरी जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको औपचारिक घोषणा गरिएको छ।
चलचित्र घोषणा कार्यक्रममा एक भावुक र ऐतिहासिक दृश्य देखियो, जहाँ मदनकृष्णका साढे चार दशकभन्दा लामा सहयात्री हरिवंश आचार्यले आफ्ना 'दाइ' मदनकृष्णलाई एक विशाल र भव्य फूलको माला पहिराएर सम्मान गरे। लामो समयदेखि अटुट सहकार्य गर्दै आएका यी दुई महजोडीको यो आत्मीयताले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनाएको थियो।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको उल्लेख गरे। उनले ऐतिहासिक व्यक्तित्वको बायोपिक निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य भएको बताए।
लामो समयदेखि नेपाली कला र समाजलाई मार्गदर्शन गराउँदै आएका मदनकृष्णको जीवनीमा फिल्म बन्ने खबरले दर्शक र चलचित्र वृत्तमा निकै उत्साह पैदा गरेको छ।